कोरोना संकट र लकडाउनले गर्दा मात्र हो, नत्र पोखराका सडकका खाल्डाखुल्डीले दुर्घटना निम्त्याइरहन्थे । महानगरपालिका र यसका वडा कार्यालयहरू यो अवस्था नदेखेझैँ गरिरहेका बेला ‘जागौँ पोखरा’ नामको अभियान खाल्डाहरू पुर्न सक्रिय छ ।
अभियानका सदस्य यतिबेलामा ट्रकभरि पुरुवा माटो, गेग्य्रानसहित हातमा बेल्चा लिएर खाल्डाखुल्डी पुर्न व्यस्त देखिन्छन् । अभियानका संयोजक शिवराज बस्ताकोटीले सडकका कारण दिनहुँ दुर्घटना बढ्न थालेपछि खाल्डाखुल्डी पुर्ने अभियानमा सक्रिय बनेको बताउँछन् । सुन्दर सहरको बेरुप अवस्थाले पोखरेलीलाई नै लज्जित बनाएकोले आफूहरुले सचेत नागरिकको कर्तव्य पूरा गरेको उनको तर्क छ ।
अभियानकर्मी दीपक आचार्य सडक जस्ता संवेदनशील क्षेत्रमा राज्य उदासीन भएको बताउँछन् । “जनप्रतिनिधि चिल्ला गाडीमा सवार हुन्छन्, सेवासुविधाको भोगचलनमा मात्र अग्रसर हुनेहरूले जनताको सास्ती बुझ्न सकेनन्”, आचार्यले भने, “सडकका खाल्डाखुल्डीले दिनहुँ दुर्घटना बढिरहेको छ । यसतर्फ सम्बन्धित निकायको चासो नबढ्नु दुःखद् हो ।” उनले नागरिकका रुपमा आफूहरूले खाल्डा पुर्न काम थालेको बताए । तर नागरिकस्तरबाट हुने यस्ता कामले पोखराको लाज छोपिएला त ?
पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्ले महानगरले सडक स्तरोन्नतिका लागि काम सुरु गरेको बताउँछन् । “महानगरले अक्सपाल कंक्रिट (बाक्ला पिच)का लागि केही क्षेत्र छुट्याएर इलाइट कम्पनीलाई जिम्मा दिइसकेको छ । कोरोना कहरले केही ढिला हुन गएको हो”, उनी भन्छन् ।
काफ्लेका अनुसार करिब १५ करोड लागतमा पोखराका सभागृह, महेन्द्रपुल, अमरसिंह, पालिखेचोक, पृथ्वीनारायण क्याम्पस र तल्लोदीप क्षेत्रका सडक मर्मतका लागि कम्पनीसँग सम्झौता गरिएको छ । रासस