पोखरा महानगरपालिकाको बजेट ६ अर्ब २० करोड

0
100
पोखरा महानगरपालिका सातौ नगर सभामा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङ । फोटोः हरि बास्तोला/रासस

पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । पोखरा सभागृहमा बुधबार आयोजित सातौँ नगरसभामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ तीन अर्ब २० करोड ८४ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ दुई अर्ब ९८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
सङ्घीय सरकारबाट दुई अर्ब ५२ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार रुपैयाँ गरी जम्मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत दुई अर्ब ६३ करोड १९ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने अन्तरसरकारी अख्तियारबाट ८५ करोड रुपैयाँ प्राप्त हुने प्रस्तुत बजेटमा अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिए ।

बजेटमा राजस्व बाँडफाटतर्फ सङ्घीय सरकारबाट ३० करोड ६४ लाख रुपैयाँ र प्रदेश सरकारबाट चार करोड ३७ लाख रुपैयाँ गरी जम्मा ३५ करोड एक लाख र आन्तरिक स्रोतबाट दुई अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

राजस्व बाँडफाँटअन्तर्गत सङ्घीय सरकारबाट ४१ करोड ९९ लाख रुपैयाँ र प्रदेश सरकारबाट तीन करोड ८२ लाख रुपैयाँ, आन्तरिक आय दुई अर्ब ७४ करोड २९ लाख १७ हजार रुपैयाँ, ऋणबाट १० करोड रुपैयाँ, जनसहभागिता १२ करोड २५ लाख रुपैयाँ, नगद मौज्दात २२ करोड रुपैयाँ, सडक बोर्ड दुई करोड ५० लाख रुपैयाँ, अन्तरसरकारी अख्तियारी एक अर्ब २६ करोड २५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

बुधबार सार्वजनिक गरिएको बजेटमा पूर्वाधारतर्फ दुई अर्ब ७३ करोड ४० लाख रुपैयाँ, स्वास्थ्यतर्फ एक अर्ब २९ करोड ६३ लाख रुपैयाँ, कृषि तथा पशुपालनतर्फ पाँच करोड ३५ लाख, पर्यटनतर्फ दुई करोड ४६ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । कोरोना विशेष कार्यक्रमका लागि २८ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

महानगरपालिकाकाले आर्थिक वर्ष २०७६/७७ मा व्ययतर्फ सञ्चित कोषबाट पाँच अर्ब ७१ करोड ७९ लाख रुपैयाँ अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भई सञ्चित अनुमान छ अर्ब ३८ लाख भएको छ । कार्य सञ्चालन कोषबाट व्यय एक अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकामा आव २०७६/७७ को जेठ मसान्तसम्म तीन अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको थियो ।

आव २०७६/७७ को जेठ मसान्तसम्म चालू खर्चतर्फ एक अर्ब ३६ करोड २० लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ एक अर्ब १० करोड ८३ लाख रुपैयाँ खर्च भई चालूतर्फ ५४ दशमलव ५ र पुँजीगततर्फ ३१ दशमलव पाँच प्रतिशत खर्च भई कूल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ ।

असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको छ । आयतर्फ हालसम्म तीन अर्ब ३१ करोड २० लाख आम्दानी भई अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको छ । कोरोना भाइरस कोभिड– १९ ले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको हो । महानगरले चालू आवका लागि भने रु सात अर्ब ५४ करोडको बजेट ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here