बुधबार कोरोना संक्रमणबाट ज्यान गुमाएका एक पुरुषको शव उद्‌गतमा स्थानीयबासीले विरोध जनाएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ का स्थानीयहरूले पश्चिमाञ्चलन क्षेत्रीय अस्पताल पोखरामा निधन भएका पुरुषको शव उद्‍गत गर्न अवरोध गरेका हुन् ।

तल्लो गगनगौँडाको लामतरास्थित सेती नदी किनारमा शव गाड्न खाल्डो खनिएको थाहा पाएपछि उनीहरूले शव ल्याउने बाटोमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । कुनै पनि हालतमा शव यस क्षेत्रमा गाड्न नदिने उनीहरूको अडान छ ।

खाल्डो खनिएको ठाउँ र खाल्डो खन्न प्रयोग गरिएको जेसीभीको सुरक्षाका लागि अहिले प्रहरी खटाइएको छ । उक्त स्थानमा जान स्थानीयहरूलाई प्रहरीले रोक लगाएको छ । स्थानीयहरूले घाटतर्फ जाने राजमार्गको बाटो अवरुद्ध गरेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २५ पुगेको छ । उनी असार ८ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखिएको थियो । मृतक डायबिटिजबाटसमेत पीडित थिए ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि पनि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा बिहीबार बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपुरमा नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा स्याङ्जाका एक जना, बागलुङका २ जना छन् । त्यस्तै, म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन् । नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् ।

गण्डकी प्रदेशभर बिहीबारसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here