अन्‍नपूर्ण गाउँपालिकाको बजेट ६६ करोड १२ लाख

0
26

कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ६६ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाद्वारा बुधबार आयोजित बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले आव २०७७/७८ का लागि चालु तर्फ ४३ करोड २३ लाख १८ हजार रुपैयाँ र पूँजीगत तर्फ २२ करोड ८८ लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । विषयगत समिति अन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी उनले दिए ।

पूर्वाधार विकासतर्फ रु १६ करोड ५४ लाख, आर्थिक विकास तर्फ तीन करोड ४९ लाख, सामाजिक विकास तर्फ ३७ करोड ४० लाख विनियोजन गरिएको छ ।

त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु एक करोड १३ लाख, सुशासन तथा संस्थागत विकासमा ७ करोड ५५ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवालाई अवसरको रूपमा उपयोग गर्दै उनीहरुको अनुभव, सीप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागी गराई रोजगारका अवसर सिर्जना गरिने नीति तथा कार्यक्रममा अघि सारेको थियो ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेटक्षेत्रको रूपमा घोषणा गर्दै कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण गर्न प्रोत्साहित गरिनेलगायतका नीति लिएको छ ।

बजेटमा गाउँपालिकाभित्र पूर्वाधार विकास अन्तर्गत बाटोघाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै लक्षित वर्ग तथा समुदायको सशक्तीकरण, खानेपानी, पर्यटन प्रवर्द्धन, स्थानीय रैथाने जातको संरक्षणका साथै खाद्य सुरक्षा तथा खाना संरक्षण कार्यक्रम लगायतलाई जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here